१८ असोज रुपन्देही । १० वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर पक्राउ गरेको छ। प्रहरीले तिलोत्तमा नगरपालिका–१७, दरखसवाका २७ वर्षीय युवराज थारु ‘विशाल’लाई शनिबार राति सोही क्षेत्रको धानखेतबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बालिका अपहरण गरेको सूचनाका आधारमा खोजी गर्ने क्रममा थारुलाई धानखेतमा फेला पारिएको थियो। नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ।
गोली लागेर घाइते भएका थारुलाई नियन्त्रणमा लिएपछि उपचारका लागि अस्पताल लगिएको छ। बालिकालाई भने प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। अपहरणको कारण, घटनामा अन्य व्यक्तिको संलग्नता तथा बालिकालाई कहाँ र कसरी लगिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।