१८ असोज कोहलपुर । बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा स्वास्थ्यकर्मीले स्वास्थ्य जाँचका क्रममा बालिकाको संवेदनशील अंगमा हात लगाएको आरोपमा बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन्।
शनिबार मेडिकलमै पुगेर बालिकाका आफन्तले स्वास्थ्यकर्मी गणेशबहादुर थापामाथि कुटपिट गरेका हुन्। घटनाको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएको छ।
बालिकाले स्वास्थ्य जाँचका क्रममा आफूलाई असहज हुने गरी संवेदनशील अंगमा हात लगाएको आफन्तलाई बताएपछि उनीहरू मेडिकलमा पुगेका थिए। त्यसपछि आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गरेको बताइएको छ।पेट दुख्ने समस्या भएपछि मेडिकल पुगेकी बालिकालाई स्वास्थ्यकर्मीले जाँच गर्ने क्रममा जबर्जस्ती सुरुवाल खोल्न लगाई संवेदनशील अंगमा हात लगाएको आरोप आफन्तले लगाएका छन्।
यद्यपि, कुटपिटमा परेका स्वास्थ्यकर्मी थापाले भने आफूले कुनै गलत नियतले जाँच नगरेको बताएका छन्। बिरामीले सेतो पानी बग्ने, गानोगोला हुने तथा तल्लो पेट दुख्ने समस्या बताएपछि बिरामीकै आग्रहअनुसार स्वास्थ्य परीक्षण गरेको उनको भनाइ छ।थापा डाक्टर नभई सिएमए अध्ययन गरेका स्वास्थ्यकर्मी रहेको बताइएको छ।
घटनापछि प्रहरीले कुटपिटमा परेका स्वास्थ्यकर्मीलाई शनिबार नै नियन्त्रणमा लिएको छ। घटनामा संलग्न अर्को पक्षलाई पनि आइतबार बोलाएर सोधपुछ तथा अनुसन्धान अघि बढाइएको बाँके प्रहरीका सूचना अधिकारी प्रतितसिंह राठौरले जानकारी दिए।
प्रहरीले घटनाको दुवै पक्षको भनाइ, स्वास्थ्य जाँचको अवस्था तथा कुटपिटसम्बन्धी विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धानपछि वास्तविकता खुल्ने प्रहरीले जनाएको छ।