Logo

मंगलवार, कार्तिक ११ गते २०८३

प्रचण्डद्वारा वाईसीएलले निर्माण गरेका २१ अस्थायी आवास हस्तान्तरण, पीडित भन्छन्– ‘हाम्रा लागि यो सिंहदरबार हो’

प्रचण्डद्वारा वाईसीएलले निर्माण गरेका २१ अस्थायी आवास हस्तान्तरण, पीडित भन्छन्– ‘हाम्रा लागि यो सिंहदरबार हो’

जोईन खबर

२७, आश्विन २०८३
  • 553
    SHARES
  • प्रचण्डद्वारा वाईसीएलले निर्माण गरेका २१ अस्थायी आवास हस्तान्तरण, पीडित भन्छन्– ‘हाम्रा लागि यो सिंहदरबार हो’

    २७ असोज नुवाकोट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि योङ कम्युनिस्ट लिग ९वाईसीएल० नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।

    images

    मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा आयोजित कार्यक्रममा संयोजक प्रचण्डले प्रभावित परिवारलाई नवनिर्मित आवासको चाबी हस्तान्तरण गरेका हुन्। वाईसीएल नेपालको पहलमा निर्माण गरिएका ती आवासमा दुई कोठा र शौचालयको व्यवस्था गरिएको छ।बाढीपहिरोका कारण घरबारविहीन भएका परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण अभियान सञ्चालन गरिएको वाईसीएलले जनाएको छ।

    images
    images
    images

    ‘भोटेकोशी बाढी विकासको गलत मोडलको असर हो’

    आवास हस्तान्तरण कार्यक्रममा प्रचण्डले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसबाट भएको क्षति प्राकृतिक विपत्तिको परिणाम मात्र नभएको बताए। उनले विकसित भनिएका मुलुकहरूले अपनाएको विकासको गलत मोडल र त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालजस्ता देशले भोग्नुपरेको उल्लेख गरे।

    पूर्वप्रधानमन्त्री प्रचण्डले कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनका कारण उत्पन्न विपद्को असर नेपालले बेहोर्नुपरेको बताए। आफू प्रधानमन्त्री रहेका बेला संयुक्त राष्ट्रसंघको महासभा तथा राष्ट्रसंघका महासचिवसँगको भेटमा जलवायु न्यायको विषय उठाएको पनि उनले स्मरण गरे।

    प्रचण्डले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आफू पुग्दा प्रभावित परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरिएको उल्लेख गर्दै निर्माण कार्यमा खटिएका वाईसीएलका नेता तथा कार्यकर्तालाई धन्यवाद दिए।

    ‘हाम्रा लागि यो सिंहदरबार हो’

    बाढीपहिरोले घरमा क्षति पुर्‍याएपछि अस्थायी आवासमा बस्न पाएका प्रभावित परिवारले खुसी व्यक्त गरेका छन्। उनीहरूले विपद्का बेला वाईसीएलले सहयोग गरेर सुरक्षित बसोबासको व्यवस्था गरिदिएको भन्दै आभार प्रकट गरेका छन्।

    बेलकोटगढी नगरपालिका–७ का ६३ वर्षीय श्रीकृष्ण नेपालले बाढीले आफ्नो घर आधा पुरेको बताए। वाईसीएलले आवास निर्माण गरिदिएपछि आफूलाई ठूलो राहत मिलेको उनको भनाइ छ।‘मेरो घर बाढीले आधा पुर्‍यो। वाईसीएलले घर बनाइदियो। मेरा लागि यो सिंहदरबार हो,’ नेपालले भने।

    सोही वडाका प्रदीप राईले वाईसीएलले निर्माण गरिदिएको घरमा यस वर्षको दसैँ मनाउन पाउने बताए। आवास निर्माणले आफूहरूलाई नयाँ जीवन सुरु गर्ने आशा दिएको उनको भनाइ छ।

    स्थानीय शम्भु सिग्देलले पनि वाईसीएलले गाउँका विपद् प्रभावित परिवारलाई ठूलो सहयोग गरेको बताए।

    एउटा आवास निर्माणमा चार लाख रुपैयाँ खर्च

    वाईसीएल नेपालका अध्यक्ष पुष्प वलीले बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण अभियान सञ्चालन गरिएको जानकारी दिए।

    वाईसीएलका प्रचार विभाग प्रमुख धिरज उपरकोटीका अनुसार निर्माण गरिएका अस्थायी आवास दुई कोठा र शौचालयसहितका छन्। एउटा आवास निर्माणमा अनुमानित चार लाख रुपैयाँ खर्च भएको उनले बताए।वाईसीएलका उपाध्यक्ष हरि ढकालका अनुसार दाताहरूबाट प्राप्त निर्माण सामग्री तथा प्राविधिक सहयोगमा आवास निर्माण गरिएको हो।

    आवास निर्माण, सरसफाइ, उद्धार, राहत वितरण तथा पुनर्निर्माणका काममा वाईसीएलका ६ सयभन्दा बढी नेता तथा कार्यकर्ता परिचालित भएका थिए।वाईसीएलले आवास हस्तान्तरण गरेका परिवारमा मोतिराम राई, सुरेन्द्र नेपाल, श्रीकृष्ण नेपाल, गोपी अधिकारी, लोकनाथ नेपाल, रमेश राई, प्रदीप राई, मीना राई, सोमप्रसाद राई, शिवराम नेपाल, हरिहर नेपाल, रामकुमार मगर, नरेश नेपाल, सरिता नेपाल, मुक्तिराम नेपाल, कोमलप्रसाद नेपाल, टीकाराम नेपाल, लालप्रसाद नेपाल, डण्डपानी घिमिरे र बुद्धलाल चित्रकार रहेका छन्।

    संगठनले २१ वटा आवास हस्तान्तरण गरेको जनाएको भए पनि उपलब्ध विवरणमा २० परिवारको नाम मात्रै उल्लेख गरिएको छ।

    राहत, उद्धार र पुनःस्थापनामा पनि सक्रिय

    वाईसीएल नेपालले आवास निर्माणसँगै बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार, सरसफाइ तथा पुनःस्थापनाका काम सञ्चालन गरेको जनाएको छ।वाईसीएलका अध्यक्ष पुष्प वलीद्वारा जारी विज्ञप्तिअनुसार प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, औषधि, लत्ताकपडा, सोलार लाइट, मोबाइललगायत अत्यावश्यक सामग्री वितरण गरिएको छ। प्रभावित नागरिकको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ११ जनाको सहभागितामा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ।

    काठमाडौंमा रहेका प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा तथा औषधोपचारमा सहयोग गरिएको संगठनले जनाएको छ। त्यसैगरी, करिब १०० परिवारलाई खाना पकाउने ग्यास तथा खाद्यान्न उपलब्ध गराउने प्रयास गरिएको वाईसीएलको भनाइ छ।

    संगठनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका कामका लागि देशभर १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ।वाईसीएलले विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने, सुरक्षित आवास निर्माण गर्ने तथा उनीहरूलाई सामान्य जनजीवनमा फर्काउन सहयोग गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।

    प्रकाशित मिति :आश्विन २७, २०८३ मंगलवार - १०:५८:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको