१३ कार्तिक गोरखा । गोरखाको संस्कार, संस्कृति, कला, परम्परा तथा ऐतिहासिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित पाँचौँ गोरखकाली पर्यटन मेला–२०८३ आयोजना हुने भएको छ। ‘गोरखाको संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धन, आर्थिक, पर्यटन र ऐतिहासिक गोरखाको अभियान’ भन्ने मूल नाराका साथ हरमटारी क्लबको आयोजनामा आगामी मंसिर १४ गतेदेखि २७ गतेसम्म मेला सञ्चालन हुन लागेको हो।
‘गोरखा — जहाँ इतिहास जीवित छ’ भन्ने सन्देशसहित आयोजना हुन लागेको मेलाले गोरखाको ऐतिहासिक गौरव, मौलिक कला, संस्कृति, परम्परा र पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ।
गोरखाको ऐतिहासिक पहिचानलाई थप उजागर गर्दै पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधिको विस्तार तथा आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्य मेलाले लिएको छ।
गोरखा ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्ला भएकाले यहाँका मौलिक सम्पदा र परम्पराको संरक्षणसँगै पर्यटन विकासलाई जोड दिन मेला महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
मेलामार्फत गोरखाको पहिचान, संस्कृति र गौरवलाई व्यापक रूपमा प्रचारप्रसार गर्दै जिल्लाको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने आयोजकको लक्ष्य रहेको छ। ‘हाम्रो पहिचान, हाम्रो संस्कृति, हाम्रो गौरव — गोरखा’ भन्ने सन्देशका साथ आयोजना हुन लागेको पाँचौँ गोरखकाली पर्यटन मेलाले स्थानीय कला, संस्कृति र पर्यटनको विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।