३१ बैशाख काठमाडौ। अनुदान रकम नदिएपछि निर्जीवन बिमा कम्पनीहरूले कृषि बिमा पोलिसी जारी गर्न बन्द गरेका छन्। नेपाल बिमक संघले आगामी जेठ ७ गतेदेखि कृषिसम्बन्धी पोलिसी र दाबी भुक्तानीसमेत नगर्ने निर्णय गरेको छ।नेपाल सरकारले ०६९ सालदेखि नै कृषि बिमामा कृषकलाई आकर्षित गर्न अनुदानको व्यवस्था गरेको छ । सरकारले अनुदान रकम भुक्तानी नगरेपछि बिमा कम्पनीहरू दाबी भुक्तानी गर्न असमर्थ रहेको संघको बताएको छ। बाली बिमाको अनुदान रकम ०७८ असाेजदेखि चैत्र मसान्तसम्म आंशिक दिई हालसम्मको बाँकी रहेको उनले बताए ।
नेपाल सरकारले सुरुवातमा कृषि बिमाका ५० प्रतिशत अनुदान दिएको थियो। यसलाई बढाएर सरकारले ७५ प्रतिशत बनाएको थियो भने अहिले ८० प्रतिशतसम्म अनुदान दिँदै आएको छ । प्राधिकरणको निर्देशिकाबमोजिम कृषि बिमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्ने, तर सरकारले तोकेको अनुदान सामान्यतया एक वर्षपश्चात् मात्र प्राप्त हुने गरेको संघले जनाएको छ। संघका अनुसार हाम्रा छिमेकी मुलुकमा समेत बिमा शुल्कमा अनुदान रकम प्राप्त भएपश्चात् मात्र दाबी भुक्तानी हुने अभ्यास छ।भुक्तानी नहुँदा बिमा कम्पनीहरू अत्यधिक जोखिममा रहेको संघको भनाइ छ।