१ जेठ काठमाडौ। सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको सञ्चालन आय र खुद मुनाफा घटेको छ । शनिबार सार्वजनिक टेलिकमको आर्थिक वर्ष २०७९-८० को तेस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार यी दुवै शीर्षकमा कम्पनीको प्रदर्शन खुम्चिएको हो ।
गत आवको सोही अवधिमा कम्पनीको कूल सञ्चालन आय २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रूपैयाँ रहेको थियो । यसबीचमा टेलिकमको सञ्चालन आय ८७ करोड २९ लाख ६४ हजार रुपैयाँ अर्थात् ३.०९ प्रतिशतले घटेको हो ।अघिल्लो आवको तेस्रो त्रैमासिकसम्मको तुलना गर्दा यसपटक दुई करोड ३३ लाख ७१ हजार अर्थात ०.४३ प्रतिशतले मुनाफा घटेको हो । जारी आवको चैत मसान्तसम्म कम्पनीको खुद नाफा पाँच अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ मात्र छ ।
यता कम्पनीकाे कूल आय भने बढेको देखिन्छ । वित्तीय विवरण अनुसार जारी आवको तेस्रो त्रैमासिक सकिँदा कम्पनीले ३३ अर्ब २० करोड ८५ लाख ६५ हजार रूपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.०६ प्रतिशतले बढी हो । सो अवधिमा कम्पनीले ३२ अर्ब ५३ करोड ६७ लाख २९ हजार रूपैयाँ आम्दानी गरेको थियो ।
तर अन्तरआवद्धता सम्बन्धी निर्देशिका अनुसार डोमेस्टिक अन्तरआवद्धता शुल्क (ट्यारिफ) मा कमी आएको तथा सोसँग सम्बन्धित खर्चमा समेत कमी आएको र ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा करिब ५७ करोड ५८ लाख रूपैयाँले कमी भएको टेलिकमले जनाएको छ ।बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब एक अर्ब ७३ करोड ९९ लाख रूपैयाँले वृद्धि भएको देखिन्छ ।