२ जेठ काठमाडौ। गृहसचिव दिनेश भट्टराईले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले गृहसचिव दिनेश भट्टराईलाई हार्दिक स्वागत गर्नुभएको थियो ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्रिय सुरक्षाको कार्यभारलाई आत्मसाथ गर्दै देशमा शान्ति सुव्यवस्थाको समुचित प्रबन्ध मिलाउन नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै गृहसचिव भट्टराईले भन्नुभयो, ‘मन्त्रालय नेतृत्वले अगाडि सारेको दृष्टिकोण, मूल्यमान्यता, निष्ठा र आदर्शलाई नेपाल प्रहरीले गम्भीरतापूर्वक मनन गरी जनताको लोकतान्त्रिक अधिकार उपभोगको अवस्थालाई सुनिश्चित गर्दै नागरिकमैत्री व्यवहार अवलम्बन गरी राष्ट्र र जनतालाई केन्द्रभागमा राखेर तोकिएको जिम्मेवारी व्यावसायिक ढंगले उच्च मनोबलका साथ वहन गर्ने कुरामा म विश्वस्त छु ।
गृहसचिव भट्टराईले विभिन्न स्वरूपमा हुने आपराधिक गतिविधि समयमै अनुसन्धान एवं नियन्त्रण गरी प्रहरी संगठनको छवि उच्च राख्न विशेष आग्रह गर्दै नागरिकको मौलिक एवं लोकतान्त्रिक अधिकारलाई सुरक्षित गरी भरपर्दो र त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।
निर्देशन सम्बोधन कार्यक्रम अघि नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण कार्यक्रममा गृहसचिव दिनेश भट्टराई समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी कार्यमा प्रविधिको प्रयोग, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति थप चनाखो एवं संवेदनशील हुन उहाँले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै सार्वजनिक सम्पत्तिको तोडफोड लगायत अवाञ्छित, अराजक र उच्छृङ्खल गतिविधिलाई निरूत्साहित गर्दै अनुसन्धान र तहकीकातका माध्यमबाट संलग्नलाई कानूनी दायरामा ल्याउन समेत निर्देशन दिनुभयो ।