५ जेठ काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानूनी बिचौलिया र एजेन्टहरूले झण्डै रु ७६ करोड ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागमा चालु आवको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ उजुरीमा रु ७५ करोड ७७ लाख ४१ हजार २१४ ठगी रकम दाबी गरिएको विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा श्रमिक पठाउनकै लागि विभागसँग अनुमति लिएका म्यानपावर कम्पनीबाहेक अन्य कोही पनि एजेन्टले रोजगारीका लागि श्रमिक पठाउन नपाउने सरकारी नियम भए पनि सरकारको नियमविपरीत एजेन्ट र बिचौलियाबाट हुने ठगीका उजुरी भने बर्सेनि बढ्न थालेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।
विभागको तत्थ्याङ्कअनुसार गएको आर्थिक वर्षमा एजेन्टहरूबाट ठगी भएको छ सय ९५ उजुरी विभागमा परेको थियो । ती उजुरी उपर रु ५० करोड ४४ लाख ६१ हजार २०३ रकम दाबी गरिएको थियो । आर्थिक वर्ष २०७८/०७९ देखि अहिलेसम्म एजेन्ट र बिचौलियाबाट रु एक अर्ब २६ करोड २२ लाख दुई हजार चार सय १७ ठगी भएको छ । चालु आर्थिक वर्षको दश महिनामा परेका नौ सय २५ उजुरीमध्ये ७७ वटा मुद्दा अदालतमा दायर गरिएको छ भने एक सय ७६ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।