९ जेठ काठमाडौं । लाइसेन्स रद्द भइसकेको स्मार्ट टेलिकमको सम्पत्ति मूल्याङ्कन गर्ने भनिएको मूल्य निर्धारण समितिका लागि उम्मेदवार फेला नपरेको पाइएको छ । समितिका लागि निर्धारित १५ दिनको अवधिभित्र पर्याप्त आवेदन नपरेपछि नियामकले मङ्गलबार पुनः अर्को १५ दिनका लागि सूचना प्रकाशित गरेको हो ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार विभिन्न पाँच पदका लागि सूचना प्रकाशित गरिएकोमा मूल्य निर्धारण समितिको संयोजकका लागि एक जना, चार्टर्ड एकाउन्टेन्टका लागि एक जना, भ्यालुएटरका लागि दुई जना र कानूनका लागि एक जनाको मात्र आवेदन परेको छ ।
शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी शैक्षिक उपाधि हासिल गरी कम्तिमा १५ वर्ष लेखा परीक्षकको रूपमा काम गरेको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी व्यवस्थापन क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्ने भनिएको छ । स्मार्ट टेलिकमको सम्पत्ति तथा दायित्व यकिन गरी मूल्य निर्धारण गरिने र सरकार, प्राधिकरण तथा अन्य संस्थाको बक्यौता असुल उपर गर्नका लागि लिलाम बिक्री गरिने बताइएको छ ।