२८ जेठ काठमाडौ ।एसिया कप २०२३ र एकदिवसीय विश्वकप क्रिकेटलाई लिएर भारत र पाकिस्तान क्रिकेट बोर्डबीचको विवाद समाधान हुने अवस्थामा पुगेकाे बताइएको छ । यी दुई प्रतियोगिताको सन्दर्भमा दुई देश प्रत्यक्ष आमनेसामने भएनन् तर एसीसी र आइसीसीका प्रतियोगिताहरू यी दुई देशबीचको तनाव कम गर्ने भूमिकामा देखिएका छन् ।यस्तो अवस्थामा पाकिस्तानसहित अन्य टोलीले आफ्नो खेल पाकिस्तानमै खेल्नेछन् । त्यस्तै, भारतीय टोलीका खेलहरू श्रीलंकाको गाले र पल्लेकेले मैदानमा हुनेछन्। योसँगै पीसीबीले भारतमा आयोजना हुने एकदिवसीय विश्वकपमा आफ्नो टोली पठाउने सहमति गरेको छ ।
एसीसीले मंगलबार एसिया कप आयोजनाको औपचारिक घोषणा गर्न सक्नेछ । हाइब्रिड मोडलको आधिकारिक स्वीकृतिले पाकिस्तानी टोलीलाई अक्टोबर-नोभेम्बरमा हुने एकदिवसीय विश्वकपका लागि भारत भ्रमण गर्ने बाटो खुला गर्नेछ। पाकिस्तानी टोली अहमदाबादमा पनि खेल्न तयार छ ।
एसिया कप आयोजनाको समस्या समाधान गर्ने जिम्मा एसीसी कार्यकारी बोर्डका सदस्यलाई दिइएको छ । ती सदस्यमा ओमान क्रिकेट बोर्डका प्रमुख पंकज खिम्जी पनि थिए । धेरै देशहरूले हाइब्रिड मोडेल चाहँदैनन्। तर, अहिलेसम्म लाहोरको गद्दाफी स्टेडियममा चार खेल हुनेछन्, जसमा भारतीय टोलीले खेल्ने छैन । यी खेलहरू हुन्– पाकिस्तान विरुद्ध नेपाल, बंगलादेश विरुद्ध अफगानिस्तान, अफगानिस्तान विरुद्ध श्रीलंका र श्रीलंका विरुद्ध बंगलादेशका हुने छन् ।
‘भारत र पाकिस्तानबीचका दुई खेल र सुपर फोरका अन्य सबै खेल पल्लेकेले वा गालेमा हुनेछन्,’ एसीसी बोर्डका एक सदस्यले नाम न छाप्ने सर्तमा भारतीय मिडियालाई भने। एसिया कप सेप्टेम्बरमा हुने अपेक्षा गरिएको छ ।
यस्तो अवस्थामा हाइब्रिड मोडल ल्याएसँगै पाकिस्तानको एकदिवसीय विश्वकप खेल्ने बाटो खुलेको छ । विश्वकपमा भारत र पाकिस्तानको खेल अहमदाबादमा हुनसक्छ । यससँगै पाकिस्तानका बाँकी खेल चेन्नई र हैदरावादमा हुन सक्नेछन् ।