२८ जेठ काठमाडौ । नेपाली फुटबलको सबैभन्दा ठुलो घरेलु प्रतियोगिता शहीद स्मारक ‘ए’ डिभिजन लिग चर्च ब्वाइज क्लबलाई च्याम्पियन बनाउँदै सम्पन्न भएको छ ।डबल राउन्ड रोविन लिगमा कूल एक सय ८२ खेल सम्पन्न भएसँगै चर्च ब्वाइज ‘ए’ डिभिजनको डेब्युमै च्याम्पियन बनेको हो । ‘ए’ मा उक्लिएको पहिलो सिजन नै उपाधि उचालेको चर्च ब्वाइज लिग जित्ने १६औँ टोली बनेको छ । संयोगवश पहिलो पटक ‘ए’ डिभिजन खेलेको एफसी खुमलटार पहिलो वर्ष नै रेलिगेसन (‘बी’ डिभिजनमा घटुवा) मा परेको छ ।
२०६६ सालमा स्थापना भएको चर्च ब्वाईज २०७८ मा ‘सी’ च्याम्पियन, २०७९ मा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको थियो । यसअघि मनाङ २०४१ मा ‘सी’ च्याम्पियन हुँदै ‘बी’ डिभिजनमा उक्लिएको मनाङले २०४२ मा नै ‘बी’ च्याम्पियन र २०४३ मा ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो ।
यस्तै प्रशिक्षक बालगोपाल महर्जनको नाममा पनि पहिलो लिग उपाधि हात लागेको छ । २०६१ सालमा खेलाडीको रूपमा थ्रिस्टार क्लबबाट शीर्ष डिभिजन लिगको उपाधि उचालेको बालगोपालले २०८० मा चर्च ब्वाईजलाई प्रशिक्षकको रूपमा उपाधि दिलाउन सफल हुनुभएको छ ।