२२ साउन काठमाडाै । केही दिन अगाडी मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा भित्रिएको ठूलो परिमाणको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सिआइबीका एसपी थापा नेतृत्वको सुन प्रकरणको अनुसन्धान अघि बढेको जानकारी दिए।आइतबार राजश्व अनुसन्धान विभागले सुन प्रकरण अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको थियो।विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरण अनुसन्धानको जिम्मा प्रहरीलाई दिने निर्णय लिएको बताएका थिए। भन्सार जाँच पास भएर छुटेको करिब १०० किलो सुन राजश्व विभागले बरामद गरेको थियो।
यो प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये एक जनालाई हाजिर जमानीमा छाडेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतको भेटमा यसको अनुसन्धानको जिम्मा सिआइबीलाई दिने छलफल भएको थियो।छलफलपछि प्रधानमन्त्री प्रचण्डले अनुसन्धानको जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए। पक्राउ परेका अभियुक्तहरूलाई प्रहरी प्रधान कार्यालय नक्सालमा बुझाइएको थियो। त्यसपछि प्रहरी प्रधान कार्यालयले यसको अनुसन्धान गर्न सिआइबीलाई निर्देशन दिएको हो।