३० साउन काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भइ मोटरसाइकलको ‘ब्रेक शु मा लुकाएर ल्याइएको तस्करीको सुन बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार कार्यालयमा आज बाट सुन गाल्न सुरु गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, राजश्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिहरूको रोहबरमा सुन गाल्न सुरु गरिएको हो ।
उक्त सुन जोख्नका लागि नेपाल राष्ट्र बैंकको बबरमहलस्थित कार्यालयमा ल्याएर राखिएको थियो । सोमबार ब्रेक सु छुट्याएर सुन जोख्दा ६० किलो ७८९ ग्राम भएको राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर अर्यालले बताएका छन् ।तस्करीको सुन बरामद भएदेखि नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ । सुन तस्करी प्रकरणमा सरकारकै सेटिङ भएको आशङ्का गर्दै एमालेले यसको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गरेको छ ।