काठमाडौँ — प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशले अन्तरप्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ । परिषद्का अध्यक्ष सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा काठमाडौंमा आइतबार बसेको बोर्ड बैठकले अन्तरप्रदेश राष्ट्रिय खेलकुद यसै वर्षको फागुन २४ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जनाएका छन् । स्थान भने यकिन भइसकेको छैन । प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहनेछ । अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने भएको छ ।