काठमाडौं । सरकारले विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने विज्ञापन तथा सूचनाको नियमन गर्ने जिम्मेवारी विज्ञापन बोर्डलाई तोकेको छ । ३२ साउनमा राजपत्रमा प्रकाशित विज्ञापन नियमन गर्ने नियमावलीको पहिलो संशोधन मार्फत यस्तो व्यवस्था गरिएको हो । त्यस क्रममा आधिकारिक च्यानल मार्फत विज्ञापन गरे वा नगरेको, ऐन तथा नियमावली बमोजिम विज्ञापन भए वा नभएको, बोर्डमा सूचीकृत सञ्चार माध्यम वा विज्ञापन एजेन्सी मार्फत विज्ञापन भए वा नभएको आधार लिइने नियमावलीमा उल्लेख छ । नियमावलीले बोर्डलाई कुनै विज्ञापनदाता, सञ्चार माध्यम वा विज्ञापन एजेन्सीले ऐन, नियमावली वा अन्य प्रचलित कानून बमोजिम विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण सम्बन्धी आचार संहिता पालना नगरेमा त्यस्तो सञ्चार माध्यम वा विज्ञापन एजेन्सीलाई बोर्डलाई निश्चित अवधि किटान गरी विज्ञापन वा सूचना दिन वा लिन वा प्रकाशन तथा प्रसारण सम्बन्धी कार्य गर्न रोक लगाउनसम्मको अधिकार दिएको छ ।