काठमडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ । विभागका प्रमुख सीताराम कोइरालाले दरबन्दी मिलानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयले थप दरबन्दी माग गरेका छन् त्यस्ता विद्यालयलाई दरबन्दी मिलान गर्दा दिने प्रयास गरिने छ ।” अहिले कामपामा ८९ समुदायिक विद्यालय सञ्चालनमा छन् । तीमध्ये ५९ माध्यमिक विद्यालय छन् भने अन्य आधारभूत तहका विद्यालय रहेका छन् । त्यस्तै पाँच सय चार निजी विद्यालय सञ्चालनमा रहेको बताइएको छ । त्यस्तै कामपाले सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयको स्तरोन्नति गर्न लागेको जनाएको छ । पछिल्लो समय निजी छोडेर सामुदायिकमा आउने विद्यार्थी बढी रहेको पनि कामपाले जानकारी दिएको छ ।