११ असाेज काठमाडाैँ । गोरखाकाे पालुङटार नगरपालिकामा रहेकाे लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुका लागि याे बर्षबाट अनलाइन मार्फत फारम भर्न खुल्ला गरिएको छ । लिगलिगे दौड प्रतियोगिता २०८० ’मा सहभागी हुन चाहाने खेलाडीहरुका लागि लिगलिग बिकास अभियानको आयोजनामाअनलाइन फारम भर्न खुल्ला गरिएको अभियानका अध्यक्ष सञ्जिव रानामगरले जानकारी दिनुभयो ।कात्तिक १ गते हुन लागेको प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीहरुले यहीँ असोज २५ गतेसम्म फारम भरिसक्नुपर्ने उहाँको भनाई छ । यस पटक एघारौँ संस्करणको लिगलिगे दौड प्रतियोगिता आयोजना गर्न लागेको हो ।
याे प्रतियोगिता गोरखा र लम्जुङको सिमानामा पर्ने मस्र्याङदी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु हुने दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर समापन हुने गर्दछ ।प्रतियोगितामा उपाधी विजेता खेलाडीलाई नगद एक लाख रुपैया सहित श्रीपेच पगरी, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको अध्यक्ष थापामगरले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई एकबर्षका लागि लिगलिगकोटको सांकेतिक राजा घोषणा गर्ने प्रचलन रहदै आएको ,दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार, चौथो हुनेलाई १४ हजार र पाँचौ हुने विजेतालाई १० हजार पुरस्कारको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । तीन समुह चरणमा हुने प्रतियोगितामा स्थानीवासी र विद्यार्थीहरुले पनि छुट्टाछुट्टै प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ ।
स्थानीय खुल्लातर्फ भाग लिएर खेलाडीहरु प्रथम २० हजार, दोस्रो १५ हजार तेस्रो १० हजार पुरस्कार प्राप्त गर्नेछन् । विद्याथीहरुमा सहभागी हुन पाउने १८ बर्षभन्दा मुनिका छात्रहरुले भने पालुङटार नगरपालिका–३ को मैवलबाट कालिका मन्दिरसम्मको तीन किलोमिटर दौड पुरा गर्नुपर्ने उहाँले बताउनुभयो ।अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिदै आएको छ । वि.सं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो ।