१४ कार्तिक काठमाडाैँ । दसैँपछि रोकिएको रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा तिहार पछि पुनः सञ्चालनमा आउनेभएको छ । सेवा सञ्चालनका क्रममा प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार बिदा सकिएलगतै पुनःसञ्चालनमा ल्याउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
दसैँदेखि तिहारसम्म राजधानीका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताउनुभयो । उहाँले भन्नुभयो “तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुनेछ ।द्रुत बस सेवा रोकिएको नभएर अहिले २५ वटा मात्र सञ्चालन रहेकामा त्यो सङ्ख्या बढाएर लैजाने गरी तयारी थालिएको मन्त्री ज्वालाको भनाइ छ ।
असोज ३ देखिदेखि द्रुत बस नमूना परियोजनाका रुपमा सेवा शुरु गरिएकोमा अब भने पूर्णरुपमा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।एक महिनामा द्रुत बस सञ्चालन गर्दा यातायात व्यवस्था विभाग, बाग्मती प्रदेश सरकार र यातायात ब्यवसायीले त्यसको अनुभव लिएका छन् ।
द्रुत बसको लेनमा अब डोरी लगाइने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताउनुभयो । रत्नपार्क–सूर्यविनायक चल्ने सबै सार्वजनिक बसहरु द्रुत लेनमा गएपछि बाँकी सडक लेन पनि खुल्ला हुने महानिर्देशक रिजालले बताउनुभयो ।