१६ कार्तिक काठमाडाैँ । काठमाडौं उपत्यकाको चन्द्रागिरिबाट अब प्याराग्लाइडिङको उडान सुरू भएको छ । बाबु एड्भेन्चर्सले चन्द्रागिरिबाट उडान गरी मकवानपुरको चित्लाङमा अवतरण गर्न सकिने गरी प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।
हाइ अल्टिच्युड प्याराग्लाइडिङका लागि नेपालका पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारले यो कम्पनीमार्फत व्यवसायी उडान थालेका हुन् । सुनुवार नेसनल जियोग्राफ्रीबाट ‘एडभेन्चर्स अफ इयर–२०१२’ अवार्ड विजेता हुन् ।भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने गरी माथिल्लो स्टेसन तोकिएको छ ।प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यू’का साथै काठमाडौं उपत्यकाको अधिकांश भू–भागको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ शुल्क तोकिएको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडीमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने–आउने सुविधा उपलब्ध छ । फोटो र भिडियोको उपकरणको प्रवन्ध कम्पनीले नै गर्छ । सोही प्याकेजका लागि विदेशी नागरिकले १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने सुनुवारले जानकारी दिए ।