२४ कार्तिक काठमाडाैँ । नेपाली इथिकल ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगितामा तेस्रो भएको छ । सेमिफाइनलमा स्पेनसँग पराजित नेपालले तेस्रो स्थानका लागि भएकाे प्रतिस्पर्धामा फ्रान्सलाई हराएकाे हाे । याेसँगै नेपाली टिमले कूल एक लाख ६० हजार डलर (करिब दुई करोड १२ लाख रुपैयाँ) बढी पुरस्कार पाएको छ ।यसअघि क्वार्टरफाइनलमा संयुक्त राज्य अमेरिकालाई हराएर नेपाली टिम सेमिफाइनल पुगेको थियाे ।
सेमिफाइनलमा नेपाललाई हराएर फाइनल पुगेको प्रतियाेगिताकाे स्पेन पहिलो र फ्रान्सलाई हराएर फाइनल पुगेको इजरायल दोस्रो भए । नेपाली ह्याकरको टिममा आनन्द ढकाल, विवेक उप्रेती, सन्दीप ओली, विवेक न्यौपाने, प्रशान्त भट्टराई, आकाश हमाल, विवेक ढकालसहित २६ जना थिए । फाइनलका लागि अर्जेन्टिना जाने सूचिमा भने १० ह्याकर थिए ।
सेमिफाइनल चरणका खेल सेप्टेम्बर २६ देखि अक्टोबर १० सम्म भर्चुअल रूपमै भएको थियो । फाइनल भने अक्टोबर १९ देखि नाेभेम्बर ३ मा अर्जेन्टिनामा भएको हो । फाइनलका लागि नेपाली टिमलाई अर्जेन्टिना बोलाइए पनि भिसा समस्याका कारण जान पाएकाे थिएन ।
नेपालसँग अर्जेन्टिनाको कुटनीतिक सम्बन्ध नभएकाले भौतिक रूपमा टिम नेपाल सहभागी हुन नसकेको टिमका लिडर आनन्द ढकालले बताए ।भिसाको लागि हामीसँग पर्याप्त समय थिएन,” ढकालले भने,अर्जेन्टिनासँग नेपालको कुटनीतिक सम्बन्ध नभएकाले नेपाल सरकारले केही गर्नसक्ने अवस्था थिएन । त्यसैले हामी भिसा लगाउन भारत गएका थियौं ।
उनले अगाडि भने, “१९ अक्टोबरदेखि सुरु हुने फाइनलका लागि नेपाली टिमले अक्टोबर १० देखि १९ भित्र भिसाको सबै प्रक्रिया पूरा गरिसक्नुपर्ने थियो । भारतबाट अर्जेन्टिनाको भिसा पाउन अर्जेन्टिनाको कम्पनीले इन्भिटेसन लेटर पठाउनुपर्ने थियो । तर, ह्याकरवन अमेरिकी कम्पनी भएकाले सो कम्पनीले इन्भिटेसन लेटर पठाउन मिलेन ।यो प्रतियोगितामा कुन टिमले कति पुरस्कार पायो भन्ने खुलाइएको हुँदैन ।
मार्च १३ देखि सुरु भएको यो प्रतिस्पर्धाको समूह चरणमा भारत र पाकिस्तानलाई हराउँदै टिम नेपाल शीर्ष १६ मा पुगेको थियो । मे २ देखि १६ सम्म साउदी अरेबिया र नेपालबीच स्वीट सिक्स्टिनका लागि प्रतिस्पर्धा भएको थियो । त्यसमा साउदीलाई पछि पार्दै टिम नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।टेकपाना