२७ कार्तिक काठमडााैँ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो ।
मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’ भारत, अष्ट्रेलिया, बेल्जियम क्यानडा, डेनमार्कलगायतका देशले पनि टिकटक बन्द गरेका छन् ।
चीन भारत सीमामा दुई देशबीचको सेनाबीच तनाव बढेपछि भारतले भारतको सम्प्रभुता, भारतको सुरक्षामा खतरा पैदा भएकाले टिकटकसहितका चिनियाँ एप बन्द गरेको थियो । सन् २०२२ मा अफगानिस्तानमा सरकारमा आए लगत्तै तालिवानले इस्लामिक कानुन विपरीत रहेको भन्दै टिकटक बन्द गरेको थियो ।
प्रकाशित मिति :कार्तिक २७, २०८० सोमवार -
१६:४४:१० बजे