३ मंसिर काठमाडौँ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि खुकुरी प्रहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरू बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का २४ वर्षीय शेरबहादुर थारू, झापाकाे मेचीनगर नगरपालिका वडा नम्बर ८ मेचेका ३४ वर्षीय कैलास भन्ने टेकबहादुर प्रधान र कोहलपुर नगरपालिका वडा नम्बर १ कौशीला बस्ने २६ वर्षीय आशिष लामिछाने मगरलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको हो ।
कात्तिक २२ गते काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित आई प्लेक्स मलनजिकै बर्तौलामाथि दुई जना व्यक्तिहरूले खुकुरी प्रहार गरी फरार भएका थिए। अनुसन्धानको क्रममा प्रहरीले उनीहरूको पहिचान, पीडितबाट सूचना संकलन र विभिन्न विधि र पद्धतीको प्रयोग गरिएको एसपी ढुंगेलले बताउनुभयो।
एसपी ढुंगेलका अनुसार बर्तौलामाथि सांघातिक आक्रमण गर्न तीनले बर्तौलाको दैनिक गतिविधिमाथि निगरानी गरेका थिए । बर्तौला बस्ने घर, कार्यालय, जिम सबै ठाउँमा निगरानी गरी उपयुक्त समय र स्थानको निर्धारण गरी आक्रमण गरेको पाइएको प्रहरीले बताएको छ ।
आक्रमणपछि दुबै जना भागेका थिए । शेरबहादुरले करिब पाँच सय मिटर पश्चिम भागेर एक घरभित्रको कम्पाउण्डभित्र पसेर कपडा फेरेका थिए। ती कपडा, हतियारहरू त्यहीँ फालेर उनी फरार भएका थिए ।प्रहरीको निगरानीबाट बच्न उनीहरू हिँड्दै नयाँ बसपार्क पुगेर त्यहाँबाट झापा हुँदै इलाम पुगेका थिए। उनीहरू दुई जनालाई इलाम पुर्याउने काम टेकबहादुर प्रधानले गरेका थिए।
पक्राउ परेका व्यक्तिहरू पहिले पनि पटक(पटक आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।