१६ मंसिर काठमाडाैँ । गोरखाको शहीद लखन गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएकाे छ । उक्त ट्रयाक्टर सिलिङबाट दोभानतर्फ ढुङ्गा बोकेर आउँदै गरेको ध १ त १२५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला गाेरखाकाे ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा शहीद लखन ३ बस्ने २९ वर्षीय पदम थापामगरको मृत्यु भएकाे छ ।
दुर्घटनामा ट्रयाक्टर चालक गोरखा नगरपालिका–१३ बस्ने ३५ वर्षीय विश्वास गुरुङ, तनहुँ आँबुखैरेनी–३ बस्ने २२ वर्षीय प्रदीप अर्याल र बहिद लखन–३ बस्ने २६ वर्षीय रामबहादुर आले सामान्य घाइते भएका छन । ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताउनुभयो ।
शनिवार बिहान दुर्घटनामा गम्भीर घाइते भएका थापामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएकाे उहाँँले जानकारी दिनुभयो । ट्रयाक्टर चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अरू थप विवरण अाउन बाकी छ ।