१८ मंसिर काठमाडौँ । उत्तरी गोरखाको सिर्दीबास डिपोमा बिक्रीका लागि खच्चडबाट चामल ढुवानी गरी पुर्याइएको छ । खाद्य व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले यो बर्ष सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न सुरू गरेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिए ।
कम्पनीले गोरखाबजार बाट दोभानसम्म मिनिट्रक र दोभानबाट सिर्दीबास डिपोसम्म खच्चडले ढुवानी गर्न थालेको छ सिर्दीबास डिपोमा चामल ढुवानीका लागि दूधपोखरी निर्माण सेवासँग कम्पनीले ठेक्का सम्झौता गरेको सूचना अधिकारी सुनारले बताएका छन् ।
उहाँका अनुसार अहिले सम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्याइ सकेको बताउनु हुन्छ । कम्पनीले चालु आर्थिक बर्षमा सिर्दीबास डिपोका लागि एक हजार क्विन्टल, माछाखोला डिपो, नामरुङ बिक्री केन्द्र र चुम्लिङ बिक्री केन्द्रका लागि पाँच पाँच सय क्विन्टल चामलको ढुवानी कोटा निर्धारण गरेको छ । यो बर्ष नै सिर्दीबासमा पहिलोपटक चामल पुर्याइएको हो । कम्पनीले गोरखा बजारदेखि सिर्दीबास डिपो र नाम्रुङ बिक्री केन्द्रको लागि चामल ढुवानी गर्न दूधपोखरी निर्माण सेवा एण्ड सप्लायर्ससँग ठेक्का सम्झौता गरेको छ भने चुम्लिङ बिक्री केन्द्र र माछाखोला डिपोका लागि लिलिएन घले कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको उनले जानकारी दिए।
विकटमा रहेको खाद्य डिपो र बिक्री केन्द्रमा समयमै चामल पुर्याउनका लागि छिट्टै ढुवानी गर्न सुरु गरिएको सूचना अधिकारी सुनारको भनाइ छ । खाद्य कम्पनीले सिर्दीबास डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो रु ५६, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८८ मा मूल्य निर्धारण गरेको छ । माछाखोला डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो रु ५४, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८८ मूल्य निर्धारण गरेको हो ।