२१ मंसिर काठमाडाैँ । काठमाडौ उपत्यकासहित धेरै स्थानमा मौसम बिहानदेखि नै धुम्म देखिएकाे छ । आज दिनभर पूरै नखुल्ने तर, तत्काल पानी पनि नपर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुसँगै भारतको छत्तिसगढमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम धुम्म भएको बताइएको छ । न्यून चापीय क्षेत्रको प्रभाव धेरैजसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका पूर्वी क्षेत्रमा परेको छ । यही प्रणालीका कारण कोशी प्रदेशका एक दुई ठाउँमा भने आज हल्का पानी पर्ने अनुमान देखिएकाे छ ।
अन्य क्षेत्रमा भने मौसम धुम्मिए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविदहरुले बताएका छन् । आज दिउँसो पनि मौसम पुरै खुल्ने सम्भावना छैन । मौसम धुम्म भएकाले तापक्रम भने खासै घटेको छैन । बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम भने २० देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।