४ पुष काठमाडौँ ।उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना दिनदिनै बढन थालेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो ।
उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले आठ जनालाई पक्राउ गरेको छ ।उनीहरूको साथबाट ५० को १६ थान सक्कली अमेरिकन डलर, दुईवटा राहदानी, तिलहरी र एउटा स्कुटर बरामद गरी थप अनुसन्धान थालिएको छ ।
पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौँको सामाखुसी बस्ने वर्ष ३४ का खड्कबहादुर तामाङ, मोरङ घर भई सोही ठाउँ वर्ष ३६ का अशोक लिम्बू, सिन्धुपाल्चोकका रामबहादुर लामा, भक्तपुरको दुवाकोट बस्ने वर्ष ३६ का सुब्बा तामाङ, काठमाडौँको तारकेश्वर बस्ने वर्ष ४५ का चन्द्रबहादुर तामाङ, सिन्धुपाल्चोककै रेलबहादुर तामाङ, देवराज तामाङ र मञ्जु भन्ने कृष्णकुमारी तामाङ रहेका छन् ।उनीहरूमार्फत यसरी लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ ।