१९ माघ काठमाडौँ । उत्तरी गोरखामा यो बर्षकै सबैभन्दा बाक्लो हिमपात भएको छ ।केही दिनदेखि सामान्य हिउँ पर्न थालेको र गएरातिदेखि हल्का बर्ष भएसंगै भारी हिमपात भएको चुमनुब्री गाउँपालिका १ का स्वास्थ्यकर्मी लक्ष्मण कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार करिब डेढफिट हिउँ छ । अझै निरन्तर हिउँ परिरहेको यहाँका मान्छेहरु घरभित्रको भित्रै छन, पानी जमिसकेको समेत बताउनु भयो ।
उहाँका अनुसार यो हिमपात यो बर्षको अहिलेसम्मको ठूलो हिमपात हो । राम्ररी हिउँपरेपछि बारीका खेतीबाली र लेकका यार्सागुम्बा लगायतका जडिबुटी फस्टाउने भएकाले स्थानीयबासी खुशी रहेको उहाँको भनाइ छ ।
यतिबेला जाडो छल्न तथा फुर्सदको समयमा भ्रमण गर्न सहरतिर झरेका स्थानीय बासिन्दाहरु गाउँ फर्कन थालेका छन् ।उत्तरी गोरखाको ल्हो, स्याला, छेकम्पार लगायतका ठाउँहरुमा पनि हिमपात भइरहेको छ ।