२६ माघ काठमाडाैँ । सर्वोच्च अदालतले गरेको फैसलाविपरित काभ्रेको चौरीदेउराली गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवस भन्दै विदा दिने निर्णय गरेको छ । उक्त गाउँपालिकाले माघ २२ गते बसेको कार्यपालिकाको बैठकको निर्णयअनुसार फागुन १ गते जनयुद्ध दिवसमा गाउँपालिका कार्यालय, अन्तर्गतका सबै विद्यालय, बैंक तथा वित्तीय संस्था लगायतमा विदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु चौलागाईंले आज जारी गरेको सूचनामा उल्लेख छ ।
सर्वोच्च अदालतले सरकारको ‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय गत पुस १३ गते बदर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलले गरेको फैसलाको पूर्ण पाठमा बिदा दिने निर्णय संविधानको व्यवस्था, मर्म र मूल भावना प्रतिकूल रहेको उल्लेख छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौतामा संविधान निर्माणका क्रममा २०६६ पुस १० गते संवैधानिक समितिमा छलफल हुँदा ‘जनयुद्ध थप गर्ने भन्ने’ शब्द प्रस्ताव बहुमतबाट अस्वीकृत भएकाले पनि फागुन १ मा बिदा दिन नसकिने फैसलामा उल्लेख छ ।
