१ फागुन काठमाडाैँ । महान जनयुद्धको २९ औं बर्ष प्रवेश गरेको अवसरमा नेकपा (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिका समिति गोरखाले विविध कार्यक्रम गरी मनाएको छ । गोरखाको बारपाक सुलिकोट-८, जराङमा रहेको शहिद दिलबहादुर रम्तेल स्मृति पार्क एवं जनयुद्ध संग्रहालय परिसरमा सरसफाई, शहिदहरुको फोटोमा माल्यार्पण, जनयुद्धको चर्चा र चियापान कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको हो ।

त्यसअघि गाउँपालिका क्षेत्रमा ब्यानर र तोरण टाङ्दै सम्पूर्णमा शुभकामनाको सन्देश दिएको पार्टी अध्यक्ष नरबहादुर गुरुङले जानकारी दिए । त्यस्तै गरी बेलुकी शहिदहरुको सम्झानामा दिप प्रज्वलन कार्यक्रम समेत सम्पन्न गरेको अध्यक्ष गुरुङले बताए ।

पार्टीको गण्डकी प्रदेश सदस्य धामी बरामको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, प्रथम शहिद दिलबहादुर रम्तेलको बाबा सेते रम्तेल, आमा सरिमाया रम्तेल, जिल्ला सदस्य बाबुलाल गुरुङलगायतका स्थानीय नेता कार्यकर्ता र शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा (माओवादी) ले दिर्घकालिन जनयुद्धको शंखघोष गर्दै सशस्त्र संघर्षमा होमिएको थियो । १० बर्षपछि जनयुद्धको जगमा २०६२/०६३ को जनआन्दोलन हुदै संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ राज्य व्यवस्था आएको हो । त्यहि जनयुद्धको शुरुवातको दिनको स्मरणमा फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने गरिन्छ ।


