२१ फागुन काठमाडाैँ । प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले आइतबार जितेको छ ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा भएको फाइनलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–२ गोलले हरायो ।
रोचक खेलको पहिलो हाफमा दुवै पक्षबाट गोल हुन सकेन ।आर्मीको जितमा सितामाया बल र सिमा खड्काले समान २–२ गोल गरे । सिताले ३८औं र ५८औँ तथा खड्काले ४२औं र ५४औं मिनेटमा गोल गरेका थिए । एकेडेमीका लागि मधु राईले ४८औं र ४९औं मिनेटमा गोल गरिन् । उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता एकेडेमीले एक लाख रुपैयाँ पुरस्कार पायो ।फाइनल खेलमा आर्मीकी सितामाया बल ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् ।
सिताले ५ हजार रुपैयाँ पुरस्कार पाइन् । सर्वोत्कृष्ट खेलाडीको उपाधि आर्मीकी सरस्वती तामाङले पाइन् । गोलरक्षकमा आर्मीकी कुश्मा राना मगर तथा डिफेन्समा आयोजककी सपना सिंह उत्कृष्ट चुनिए । लुम्बिनी प्रदेशकी अनन्य बर्णवाल उदयीमान खेलाडी ठहरिन् । उत्कृष्टलाई जनही १० हजार रुपियाँ प्रदान गरियो ।आर्मीकी सितामाया बल, आयोजकककी मधु राई र सुदूरपश्चिम प्रदेशकी बुलबुल कुमारी संयुक्त रुपमा सर्वाधिक गोल कर्ता बने ।
प्रतियोगिताभर उनीहरुले समान ८–८ गोल गरेका थिए ।प्रतियोगितामा सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ । सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले हराएको थियो । तेस्रो भएको सुदूरपश्चिमले ५० हजार रुपियाँ पुरस्कार पायो ।विजेतााई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । फागुन १४ गतेदेखि सुरु प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, आर्मी र आयोजक एकेडेमी गरी आठ टिम लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।