गोरखा हिमचुचुरा, पहाड श्रृंखला, नागबेली नदीनाला, हरिया वनजंगल, दुर्लभ वन्यजन्तु र प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलले भरिपूर्ण जिल्ला हो । सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताको स्वनिर्मित संग्रहालय हो गोरखा । जगमगाइ रहेको आधुनिक नेपालको उद्गम बिन्दु नै गोरखा हो । विरतापूर्ण गाथाले भरिएको गोर्खालीहरुको मातृभूमि हो । त्यसले गोरखाको उत्कृष्टता र विशिष्टता आज सम्म पनि अमर रहिरहेको छ ।
विरताको इतिहास रचिसकेको हामी गोरखालीले आधुनिक विकासको इतिहास रच्न भने बाँकी नै छ । आजसम्म हामी इतिहासको विरतामा रमाइरह्यौ । हुन त आज गोरखाको धेरै विकास भइसकेको छ । अनि गोरखालीहरुको पनि विकास नभएको होइन । हामीले संसारमा वीरतामात्रै हैन, बौद्धिकताको पनि अलग पहिचान बनाइसकेका छौँ संसारमा । राज्यको नीति निर्माण तहमा धेरै गोरखालीको बाहुल्य छ । तर पनि हजारौँ संख्याका गोरखाली यूवाहरु आफ्नो शारीरिक र बौद्धिक श्रम विदेशी भूमिमा गरिरहेका छन् अनी आफ्नो पसिना डलर संग साटिरहेका छन् । ति यूवाहरु मरुभूमीमा पानी उमार्दैछन् । अमेरीका र रुसलाई चन्द्रमामा पु¥याउन तल्लिन छन् । तर आफ्नै जिल्लाको खेतबारीमा भने बिस्तारै तितेपाती फुल्न थालेको छ । के हाम्रै आफ्नै जिल्लामा, आफ्नै गाउँमा नै सम्भावनाहरु नभएकै हुन् त ? के हाम्रो ज्ञान, सिप र पौरखलाई हाम्रै पाखा पखेरामा लगानी गर्न सकिदैन त ? यो मामिलामा हामी कहाँ नेर चुकिरहेका छौँ त ? माथि उल्लेख गरिएजस्तै ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक स्रोत र साधनले सम्पन्न गोरखा जिल्लाका बासिन्दा हामी जस्ता यूवा हरुका लागि आफ्नो जिल्ला लाई सम्वृद्ध बनाउनका लागि मुख्य जिम्मेवारी काँधमा नै आइसकेको छ ।
कृषिको आधुनिकरण र वैज्ञानिकरण द्धारा गोरखा जस्तो पहाडी इलाकामा नगदे बालीको विकास र बजार व्यवस्थापन गर्न सकियो भने हजारौँ यूवा स्वावलम्बी बन्नेछन्, स्वरोजगार बन्नेछन् । गोरखा र गोरखालीको विकासको अर्काे महत्वपूर्ण पाटो भनेको यहाँको आन्तरिक तथा बाह्य पर्यटन व्यवसाय नै हो । हामी संग गोरखाको शिर मनासलु हिमश्रृखंला, नागबेली बुढीगण्डकी तथा दरौदी खोला, सितागुफा, मनकामना, कालिका, गोरखनाथ जस्ता धार्मिक पर्यटकीय स्थल छन् । साथमा मुलुककै नमूना गाउँका रुपमा विकास हुँदै गरेको वारपाक गाउँ, चुम भ्याली, धार्चे, भच्चेक, ताकुकोट जस्ता वस्तीहरु पनि गोरखाका गौरव हुन् । यी सम्पदाहरुलाई प्रचारप्रसार गरिनु पर्छ । यस्ता क्षेत्रको पुर्वाधार विकास गरि यूवाहरुलाई त्यस तर्फ आकर्षित गरी विभिन्न सिप तथा तालिमहरु प्रदान गरिनु पर्छ । गोरखाको एक मात्र विमानस्थल पालुङटार लाई सञ्चालनमा मात्रै ल्याउने हो भने पनि कति यूवाले रोजगार पाउँथे होलान् ? कति पर्यटक उक्त विमानस्थल हुँदै गोरखा भित्रन्थे होलान् त ? गोरखाको नि विकासका लागि अब नयाँ नयाँ पदमार्गहरुको पहिचान गरिनु पर्छ । साथै मनासलु पदयात्रालाई अझै विस्तार गरि होम स्टे अनि सुविधा सम्पन्न होटलहरुको व्यवस्था गर्न सके गोरखा एक उत्कृष्ट पर्यटकिय गन्तव्य बन्ने कुरामा दुइमत छैन । जसबाट सयौँले मात्र होइन हजारौँ गोरखाली यूवाले रोजगार पाउने निश्चित छ ।
जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना जस्तो मेगा प्रोजेक्ट सञ्चालन हुँदै गर्दा त्यसका लागि आवश्यक दक्ष जनशक्ति तथा कामदारहरुमा गोरखालीले नै पहिलो प्राथमिकता पाउनुपर्छ । तिनीहरुलाई आजैबाट नै सम्बन्धित ज्ञान तथा सिपको तालिम एवं प्रशिक्षण दिइनु पर्दछ । जसले गर्दा खाडी मुलुक सिंगार्ने हातले आफ्नै गाउँ अनि आफ्नै जन्मभूमि सिंगार्न सकुन् र विकासको बिगुल फुक्न सकुन् । यसो भयो भने हाम्रो राष्ट्र विकासको उज्यालोले जगमगाउनेछ ।
गोरखा जिल्लाको उत्तरी सिमाना चिन संग जोडिएको छ । तिब्बत संग जोडिएको लार्के भञ्ज्याङ्गलाई हामीले व्यापारिक नाकाका रुपमा विकास गराउँदै लग्यौँ भने यसले हाम्रो व्यापार तथा कृषि उपजको बजारको ढोका खोल्नेछ । गोरखा जिल्ला नेपाल र चिनव्यापारको एउटा भरभर्दाे ट्रान्जिट पोइन्टको रुपमा विकास हुनेछ । हाम्रा अग्ला पहाडका थुम्काहरु प्राकृतिक स्वादपान गर्ने ठाउँका रुपमा मात्र नभइ ती स्थानहरुमा प्राकृतिक अनुसन्धान केन्द्र स्थापना गरी हजारौँ बौद्धिक पलायनलाई रोकी मुलुकको विकासमा नयाँ आयाम थपिनेछ । जैविक विविधताले सम्पन्न गोरखाका उच्च तथा मध्यभागमा पाइने अनमोल जडिबुटिको प्रसोधन केन्द्रहरु स्थापना गर्न सके न्यून आर्थिक स्तर भएका धेरै जनताले काम पाउनेछन्, खेर गइरहेको सम्पदाबाट दाम पाउनेछन् । गोरखामा खनिज पदार्थको समेत भण्डार रहेको तथ्य बाहिर आइसकेको छ । ति भण्डारहरुलाई पहिचान गरी खनिज उद्योग सञ्चालन गर्न सके हाम्रो लागि यूरोप र अमेरिमा आफ्नै गोरखामा नै हुनेछ ।
अब हामी गोरखालीको काँधमा इतिहासले दिएको विरताको पहिचान जोगाउँदै विकास र सम्वृद्धिको इतिहास रच्ने सुवर्ण अवसर आएको छ । यदि हामी अमेरिका या जापानमा जन्मिएका थियौँ भने त्यस्तो अवसर पक्कै पनि पाइने थिएन होला । किनभने त्यहाँको मुलुकले विकासमा फड्को मारिसकेको छ भने हामी भर्खरै बामे सारिरहेका छौँ । त्यसैले आउनुस् गोरखा विकासमा यो महान लक्ष्यमा हातमा हात मिलाइ अगाडी बढाँै ।
