११ चैत काठमाडाैँ । काठमाडाैँमा आज होली पर्वमा जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय भन्दा बढी पुरुष र महिला लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए ।
आज कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई नियन्त्रणमा लिएकाे प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताए । पक्राउ परेकाहरुको अवस्था हेरेर केहीलाई आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज छ सय ६४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
यसमा चारपाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो । मापसे गरी सवारी साधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाउनेका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो । रासस