Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१८ औं एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड दीपक र सुष्मालाई

१८ औं एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड दीपक र सुष्मालाई

जोईन खबर

१३, चैत्र २०८०
  • 742
    SHARES
  • १८ औं   एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी अवार्ड दीपक र सुष्मालाई

    १३ चैत काठमाडाैँ । १८ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७९ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड एथलेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङले सोमबार जितेका छन् ।दीपकले २०७९ को फागुनमा नेपालमा भएको १६ औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपकामा दोहोरो स्वर्ण जितेका थिए । सुष्माले थाइल्यान्डमा सम्पन्न एएसबीसी यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको ४८ केजी तौलसमूहमा रजत पदक जितेकी थिइन् ।

    images

    नेपाली बक्सिङको इतिहासमा सुष्माले एसियाली च्याम्पियनसिपमा रजत पदक जितेको यो पहिलो पटक थियो । दुवैले समान १–१ लाख नगद पुरस्कार पाए ।शंखमूलस्थित यल दरबार बैंक्युटमा भएको अवार्डअन्तर्गत पुरुषमा क्रिकेटका रोहितकुमार पौडेल र महिलामा पौडीकी डुवाना लामाले प्रतिभाशाली खेलाडीको अवार्ड हात पारे । दुवैले जनही ५० हजार नगद पुरस्कार प्राप्त गरे । पारा एथलिट अवार्ड भारोत्तोलक दुर्गामान तामाङलाई प्रदान गरियो । उनी १५ हजार नगदसहित पुरस्कृत भए ।नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजना तथा ललितपुर महानगरपालिकाले सह–आयोजना गरेको अवार्डअन्तर्गत टेबलटेनिसका धर्ममान वज्राचार्यले गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व अवार्ड प्राप्त गरे ।

    images
    images
    images

    उनलाई ३५ हजार नगद पुरस्कार प्रदान गरियो । खेलाडी डटकमका प्रबन्ध सम्पादक अजय फुयालले एनएनआईपीए खेल पत्रकारिता अवार्ड पाए । उनले ३५ हजार नगद पुरस्कार प्राप्त गरे । सातै विधाका अवार्ड विजेतालाई नगदसहित स्पोर्ट्स युनिभर्सको गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गण्डकी प्रदेशमा २०७९ साल असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो । प्रत्येक खेलबाट १–१ का दरले ३६ खेलाडी पुरस्कृत भए ।

    पुरस्कृत हुनेमा आर्चरीकी प्रशदा आचार्य, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलकी अनुषा मल्ल, बक्सिङकी सुष्मा तामाङ, शारीरिक सुगठनका अशिमबाबु गुरुङ, बुद्धिचालका रुपेश जैसवाल, क्रिकेटका रोहितकुमार पौडेल, साइक्लिङ सुरज राना मगर, फेन्सिङकी शिक्षा नापित, फुटबलका किरण चेम्जोङ, फुल कन्ट्याक्ट करातेका सन्देश मानन्धर, गोल्फ सुवास तामाङ, जिम्न्याष्टिकका राजु राई, ह्यान्डबलकी शान्तिकला राई, हक्कीका महेश धानी, आईटीएफ तेक्वान्दोकी रुबिका खड्का, जुडोकी देवकीमाया श्रेष्ठ र कबड्डीकी अनुजा कुलुङ राई रहेका छन् ।

    त्यस्तै करातेका विजय श्रेष्ठ, खो खोकी सरस्वती कथायत, लन टेनिसकी सलोनी तामाङ, प्याराग्लाइडिङकी रिता श्रेष्ठ थापा, रग्बीका निरोज कार्की, सेपाकताक्रोकी उषा महर्जन, स्क्वासका अमृत थापा मगर, सुटिङका सुजन राना मगर, सफ्ट टेनिसका युकेश योञ्जन, पौडीकी डुवाना लामा, टेबलटेनिसका श्यान्टू श्रेष्ठ, तेक्वान्दोकी काजल श्रेष्ठ, ट्रायथलनकी श्रेबी महर्जन, भलिबलका रविन चन्द, भारोत्तोलनकी जुनुमाया छन्त्याल, उसुका समन घुश्री र कुस्तीका सुरेश चुनारा पुरस्कृत भए । पुरस्कृत सबैले जनही १० हजार नगद पुरस्कार पाए । यिनै ३६ उत्कृष्ट खेलाडी मध्येबाट सर्वोत्कृष्ट र प्रतिभाली पुरुष÷महिला खेलाडी छनोट गरिएको हो ।

    खेलाडीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला, केडिया ग्रुपका प्रबन्ध निर्देशक बिमल केडिया, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्ट, खेलाडी संघका संस्थापक अध्यक्ष राजेश्वरमान स्थापितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।अवार्डको १९ औं संस्करण तार्केश्वर र २० औं संस्करण बनेपा नगरपालिकामा हुने भएको छ । तार्केश्वर नगरपालिका मेयर हरिकृष्ण महर्जन र बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले उक्त संस्करणका लागि सह–आयोजक बन्ने प्रतिबद्धता जनाए ।

    प्रकाशित मिति :चैत्र १३, २०८० मंगलवार - १६:०८:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको