३० चैत काठमाडाैँ । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा कुकुर र बिरालोको बन्ध्याकरण गर्ने अभियान सुरु भएको छ । मनास्लु संरक्षण क्षेत्रको आयोजना (एमक्याप) तथा गाउँपालिका, भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र र हेल्थ नेपाल र एनिमल नेपालको साझेदारीमा बिहीवारबाट अभियान सुरु भएको हो ।
त्यो क्षेत्रमा अर्ध जंगली कुकुरले घरपालुवा पशुचौपाय तथा वन्यजन्तुसँगै पर्यटकलाई पनि आक्रमण गर्दै आएकाले समस्या भइरहेको र त्यसैले त्यसको नियन्त्रणका लागि पनि यो अभियान संचालन गरेकाे हाे । बिहिबार पाँच वटा कुकुर र एउटा बिरालोको बन्ध्याकरण गरिएको एनिमल नेपालकी सूचना अधिकारी राधा गुरुङले बताइन् ।
छेकम्पार, साम्दो, सामागाउँ र ल्हो क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर चुमनुव्री गाउँपालिकाका सबै वडामा यो अभियान संचालन हुने बताइएको छ । २६ दिनसम्म अभियान संचालन हुने छ ।अभियानको बिहिबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष निमा लामाले उद्घाटन गरेका छन् ।