१४ वैशाख काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकामा चेपाङ आवास कार्यक्रमअन्तर्गत २२ घर निर्माण भइ रहेको छ । उक्त घर निर्माण रकम संघीय सरकारको एक करोड ५० लाख अनुदानबाट बनाउन लागिएको हो ।
पालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए। अब एक महिनाभित्रमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिनेछ ।
‘घडेरी सम्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो,’ अध्यक्ष गुरुङले भने, ‘अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ। उनले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिए।
पालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छ वटा घर निर्माण गरिएको छ।इच्छाकामना गाउँपालिका–१ कोलभन्ज्याङका अरसल चेपाङ भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताए।
‘गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छ जनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ,’ उनले भने।इच्छाकामना गाउँपालिकामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ। रासस