३१ वैशाख काठमाडौँ । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत तनहुँको म्याग्देका विभिन्न भाग हिलाम्य हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । म्याग्दे गाउँपालिकाको मौरीओडार, थर्पुलगायत ठाउँमा सवारीसाधन तथा पैदल यात्रामा समस्या बढेको स्थानीय बताउँछन् ।‘दुईपाङ्ग्रे सवारीसाधनलाई निकै सास्ती हुने गरेको छ । हिलोका कारण चिप्लिएर दुर्घटनासमेत हुने गरेको छ’, म्याग्दे–४ मनहरिका गौरवराज रानाले भने ।
पानी परेपछि म्याग्देका विभिन्न ठाउँमा आवागमनमा निकै सास्ती हुने गरेको भन्दै निर्माणमा ढिलासुस्ती हुँदा नागरिकलाई सास्ती भएको उनको भनाइ छ ।मुग्लिन–पोखरा सडक प्रयोग गर्दै पोखरातर्फ जानेले भने वैकल्पिक सडक प्रयोग गर्न सकन्छन् । यो सडकमा धुलो र हिलोले सास्ती खेप्न थालेपछि सर्वसाधारणले वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन् । सदरमुकाम दमौलीको भोर्लेटारचोकबाट कलेस्ती, लमजुङको मध्य नेपालको दुइपिप्ले, न्यौपानेवेशी, कास्कीको रुपा गाउँपालिकाको पोल्याङ, देउराली, राजाको चौतारा, पोखरा महानगरपालिकाको शिशुवा हुँदै पोखरा निस्कन सकिन्छ ।
पृथ्वीराजमार्गको अवस्थाका कारण आजभोलि धेरैजसो साना तथा निजी सवारीसाधन यही बाटो हुँदै आवजावत गर्नेक्रम बढेको छ । पर्यटक बससमेत यही बाटो हुँदै पोखरा पुग्ने र पोखराबाट दमौली हुँदै काठमाडौ जाने गरेका छन् । दमौलीबाट पृथ्वीराजमार्ग हुँदै पोखरा जाँदा ४९ किलोमिटर दूरी छ भने दमौलीबाट पोल्याङ हुँदै पोखरा पुग्न ५९ किलोमिटर पर्दछ ।यो खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको थियो ।
पश्चिम खण्डको म्याद अवधि विसं २०८१ भदौ १२ गतेसम्म रहेको छ । यो खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ ।रासस