३ जेठ काठमाडौँ । चितवनमा जङ्गली जनावरको आक्रमणबाट ७ जनाको मृत्यु र २७ जना घाईते भएका छन् । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट ३, बाघको आक्रमणबाट ३ र मगर गोहीको आक्रमण एक जनाको मृत्यु भएको हो ।
यसै गरी वन्यजन्तुको आक्रमणबाट २७ जना घाइते भएका छन् । २७ जना घाइते मध्ये १५ जना सामान्य र १२ जना गम्भीर घाइते भएका हुन् ।घाइते हुनेमा हात्तीको आक्रमण १०, गैँडाको आक्रमणबाट १२, बाघको आक्रमणबाट चारजना रहेका सूचना अधिकारी तिवारीले जानकारी दिए । घाइतेको उपचारका लागि निकुञ्जले रु २१ लाख २३ हजार सात सय ७४ राहतस्वरुप प्रदान गरेको तिवारीले जानकारी दिए ।
उनको अनुसार मृत्यु भएका सातजनाको परिवारलाई राहतस्वरुप रु ७० लाख प्रदान गरिएको छ ।मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा वन्यजन्तुको वासस्थान हुने र मानिसले पनि उपभोगका लागि सोही क्षेत्र प्रयोग गर्ने भएकाले सो क्षेत्रमा बढी सङ्ख्यामा वन्यजन्तुको आक्रमण हुने गरेको तिवारीको भनाइ छ । रासस