८ जेठ काठमाडौँ थलीमा आज एक पुरुष मृत फेला परेका छन् । उक्त पुरुषका छोरा पनि घाइते अवस्थामा भेटिएको प्रहरीले बताए । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मृत भेटिएका पुरुष भक्तपुर नगरपालिका–७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटी रहेको प्रहरीले जानकारी दियो । त्यसै क्रममा उनका छोरा पनि फर्पिङमा घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार फर्पिङमा घाइते अवस्थामा भेटिएका नगरकोटीका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा थलीमा कृष्ण नगरकोटीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको छ ।आज बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको थियो । घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो ।