९ जेठ काठमाडौँ । यो बर्षको ९लू०बाट नागरिकलाई जोगाउनका लागि तराई–मधेसका जिल्ला प्रशासनलाई गृह मन्त्रालयले परिपत्र गरेको छ ।मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लामा परिपत्र गर्दै लू बाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो ।
प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेका अनुसार गर्मी हुने जिल्लाहरूका लागि मङ्गलबार साँझ नै परिपत्र पठाइसकिएको जानकारी दिनुभयो ।परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र प्रसारण गर्न, उपयुक्त सन्देशको उत्पादन र प्रसारणमा स्थानीय एफएम र टेलिभिजनसँग सहकार्य गर्न, रेडियो, टेलिभिजनको सामाजिक सञ्जाल वा अनलाइनमार्फत पनि प्रचारप्रसारमा जोड दिन भनिएको छ ।
’लू’ र यसबाट बच्ने उपाय ?
गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ । यो खासगरी देशको तराई क्षेत्रमा धेरै गर्मीको दिन तातो हावाको लहर ‘लू’ चल्न सक्छ ।
शरीरमा कस्तो असर देखिन सक्छ ?
चिकित्सकका अनुसार थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुखे, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने । हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने हुन्छ । यस्तै मुटुको धड्कन बढ्ने, छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहेँलो हुने हुन्छ ।
लू लागेमा के गर्ने ?
लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिनुपर्ने हुन्छ । बिरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको पेय पदार्थ, जाँड रक्सी नदिने, पङ्खाले हम्कने, भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने गर्नुपर्छ ।
आफू र अरुलाई कसरी जोगाउने ?
चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने, खेतबारी वा बाहिरको काम बिहान वा दिउँसो ४ बजेपछि मात्रै गर्ने, चर्को घाममा नहिँड्ने वा काम गर्ने परे शीतल हुनेगरी बेलाबेला आराम गर्ने, प्रशस्त मात्रामा पानी पिउने, धेरै चिनी नहालेको सर्वत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउने गर्नुपर्छ ।
यस्तै आफ्ना छोराछोरीलाई माथि भनिएका उपाय अपनाउन लगाउने, दिउँसोको चर्को घामम खेल्न जान नदिने, लूका कारण गाह्रो भएमा तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, ज्येष्ठ नागरिक र मुटु, फोक्सो, मिर्गौला रोग भएकालाई लूले छिटो असर गर्ने भएकाले उनीहरुलाई माथि भनिएका जोगिने उपाय सिकाउनुपर्छ । रासस