९ जेठ काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा एक नेपाली र एक बिदेशी आरोही बेपत्ता भएका छन् । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा एक नेपाली सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बिदेशी बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए ।
चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका उनले बताए । दुवैजनाले यही जेठ ८ गते बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
बेपत्ता दुवैजनाको खोजी गर्न उनीहरुको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । रासस