१० जेठ काठमाडौँ । गोरखाकी फुञ्जो झाङ्मु लामाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गर्नुभएको छ । आठ हजार आठ सय ४८.८६ मिटर अग्लो सगरमाथा १४ घण्टा १५ मिनेटमा पार गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिला बनेकी छन् ।
नयाँ कीर्तिमान कायम गर्ने लामा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पार स्थायी बासिन्दा पनि हुन् । लामाले बुधबार जेठ ९ अपराह्न ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेर उहाँले आज जेठ १०बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गर्नुभएको हो ।
समिटबाट बेसक्याम्पसम्म सबैभन्दा छिटो आइपुगेर अर्को रेकर्डसमेत कायम गर्ने उद्देश्यले लामा अहिले बेसक्याम्पतर्फ आउँदै गरेको कम्पनीले जनाएको छ । छिटो झर्ने रेकर्ड अहिले सम्म कसैको पनि नरहेको हिमाल आरोहणमा संलग्नहरूले बताएका छन् । रेकर्ड रहेमा नयाँ हुने सेभेन समिटका स्थानेश्वर गुरागाईँले बताउनुभयो ।
यसअघि सन् २०२१ म हङकङकी स्याङ यिन हङ (आडा)ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा गिनिजबुकमा नाम लेखाउन सफल भएको थिए ।