४ असार काठमाडौँ । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । घाँसखेतीबाटै जीविकोपार्जन गर्ने सोच बनाएको छु । २१ रोपनी आफ्नो र ८९ रोपनी छिमेकीको जग्गा भाडामा लिएर घाँसखेती गरेको छु । जग्गामा किम्बु, राइखन्यु, बडर, मरिङ्गा, रसियन कम्फे, नेपियर, रेड नेपियर, फोरजी बुलेज, जेइन्ड किङलगायत गरी ५० भन्दा बढी जातका घाँसका बिरुवा उत्पादन गरिरहेको छु । रसियन कम्फे विशेषगरी बङ्गुर र कुखुराको आहाराका लागि प्रयोग हुने गर्दछ ।
गत वर्षदेखि बिरुवा बिक्री गर्न सुरु गर्नुभएका उहाँले हालसम्म रु १० लाख ५० हजारभन्दा बढीको बिरुवा बिक्री गर्नुभएको छ । उत्पादन गरेका बिरुवा गुल्मीका साथसाथै अर्घाखाँची, पाल्पा, बुटबल, रुपन्देही, कपिलवस्तु, स्याङ्जा, पोखरा, रुकुमपश्चिम, रोल्पा, दाङ, हेटौँडा, मोरङलगायत स्थानमा बिक्री हुने गर्दछ । अधिकांश बिरुवा उहाँले अनलाइन मागका आधारमा पठाउने गर्नुभएको छ । प्रतिबिरुवा रु दुईदेखि ५० सम्मका बिरुवा उहाँसँग छन् । अहिलेको वर्षायाममा बिक्री गर्नका लागि उहाँसँग रु ४० लाख बराबरका घाँसका बिरुवा रहेको छ । उहाँले गत वर्षभन्दा अहिले १० रोपनी जग्गामा थप घाँसखेती विस्तार गर्नुभएको छ ।
खत्रीले १३ वर्ष दुबईको कम्पनीमा काम गर्नुभयो । उहाँले भन्नुभयो “दुबईमा मेरो मासिक रु ८२ हजार आम्दानी हुन्थ्यो । प्रत्येक शुक्रबार र शनिबार विभिन्न ठाउँमा घाँसखेती र बाख्रापालन गरेको ठाउँमा घुम्न जान्थे । त्यही देखेर गाउँमा घाँसखेती गर्न मन लाग्यो ।”
रु सात लाखबाट सुरु गरेको घाँसखेती व्यवसाय अहिले झण्डै रु ४० लाखको भएको छ । अहिले घाँसका साथसाथै होलिस्टिन जातका तीन गाई र तीन भैँसी पनि पाल्नुभएको छ । साथै एक सय ३० वटा बाख्रा अट्ने खोर पनि निर्माण गर्नुभएको छ । अबको केही समयपछि बाख्रापालन गर्ने सोच बनाएको खत्रीले बताउनुभयो ।व्यवसायका लागि उहाँले श्रीमतीका साथ पाइरहनुभएको छ । “विदेशको पैसाभन्दा यहाँको दुःख धेरै प्यारो छ”, खत्रीले भन्नुभयो, “अब विदेश नजाने गरी व्यवसाय सुरु गरेको हुँ ।घाँखखेती गर्नका लागि उहाँले कतैबाट पनि अनुदान लिनुभएको छैन । “अनुदानले मानिसलाई परनिर्भर गराउँछ”, उहाँ भन्न्नुहुन्छ, “ सरकारले अनुदान बाँड्ने होइन, बजारीकरणमा सहयोग गर्ने हो ।