४ असार काठमाडौँ । पौडीका सफल खेलाडी शिरिष गुरुङको नाममा स्थापित शिरिष फाउन्डेसनले १९ औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई प्रायोजन गर्ने भएको छ ।
फाउन्डेसनका अध्यक्ष ओलम्पियन शिरिष र एरिकाले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरे । सम्झौता १ वर्ष कायम रहने छ ।सम्झौता अनुसार फाउन्डेसनले एरिकालाई खेल पोशाक र खेल सामाग्री उपलब्ध गराउने, प्रशिक्षण÷प्रतियोगिता दौरान घाइते भएमा उपचारको व्यवस्था मिलाउने, प्रोत्साहन स्वरुप मासिक १५ हजार नगद प्रदान गर्ने, उत्कृष्ट प्रदर्शनका लागि छुट्टै विशेष पुरस्कारको व्यवस्था गर्नेलगायत छन् ।
फाउन्डेसनको यो कार्यमा निलम गहना, पम्प फर जिम, इन्फिनिटी एक्टिभ वेयर र गोल्डस्टार सुजले सहयोग गरेको फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले जनाएका छन् ।प्राविधिक विज्ञको सुझाव अनुसार एरिकालाई छनोट गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि फाउन्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्ती मगरलाई प्रायोजन गरेको थियो ।
सम्झौतापछि एरिकाले नेपाली खेलकुदमा शिरिष नाम नै नयाँ खेलाडीका लागि प्रेरणाको श्रोत भएको बताउदै फाउन्डेसनसंग जोडिन पाउँदा खुशी लागेको बताइन् ।अध्यक्ष शिरिषले प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको बताउदै फाउन्डेसनको उद्देश्यलाई विश्वास गरेर सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरे ।