६ असार काठमाडौँ । अविरल वर्षासंगै गएको पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।गएरातिको पहिरोका कारण लमजुङको बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा पहिरो जादा ठूलो ढुङ्गा खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खरखरेभिरमा सडक माथिबाट एउटा ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइले बताए ।
सोही बाटोमा पर्ने अक्टोसप झरनामा पानी बढेपछि आवागमन रोकिएको छ ।हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ । बाढी पहिरोको सबैभन्दा बढी जोखिम रहेको स्थान खरखरेभिर नै हो । यहाँ पहिरो नियन्त्रणका निम्ति सङ्घीय सरकारले १६ करोड ४८ लाख रुपैयाँको लागतमा आयोजना सञ्चालन गरेको भए पनि त्यो पूरा नहुँदा समस्या भएको छ ।