७ असार काठमाडौँ । चार दिनअघि युट्युबमा सार्वजनिक गरिएको गीत हटाउन कलाकारलाई चेतवानी दिएका छन् । बसे है पालेदाइ’ बोलको गीत यतिबेला विवादमा परेको छ। उक्त गीतमा बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रवि कार्की, श्याम राना, बालकुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङको स्वर रहेको लोकदोहोरी गीत बनेको हो ।
बालकृष्ण श्रेष्ठको शब्द रहेको गीतमा स्वर्गीय जयनन्द लामाको लय छ। विष्णु शर्माको निर्देशन रहेको गीतको भिडियोमा करिष्मा ढकाल, विजय पुन लगायतको अभिनय छ।कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षक संघ संगठनहरुले गीतमा विद्यालयलाई माया प्रेम गर्ने थलोका रूपमा चित्रण गरिएको भन्दै प्रतिबन्ध लगाउन माग गरेका छन् ।अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई युट्युब लगायतका प्लेटफर्मबाट हटाउन माग गरेका छन्।
शिक्षकहरूलाई अपमानित हुने गरि राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेका रूपमा गरिएको चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालयप्रति नै नकारात्मक भाव प्रकट भएको विज्ञप्तिमा भनिएको छ । मागलाई बेवास्ता गरे गीतलाई बहिस्कार गर्दै गीतसँग सम्बन्धित कलाकारहरूलाई सामूहिक बहिस्कारसमेत गरिने चेतावनी दिइएको छ।
