९ असार काठमाडौँ । आज भएको प्रतिनिधिसभाको बैठकमा सहकारी ठगी प्रकरणमा जोडिएका जिवी राईलाई पक्राउ गर्न नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले माग गर्नुभएको छ । उहाँले राईलाई पक्राउ गर्ने प्रक्रिया सुरु नगरिएकामा गुनासो गर्नुभयो ।
नेता संसादले प्रतिनिधिसभा बैठकमा सुरु हुनेबित्तिकै आकस्मिक समयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सहकारी ठगी प्रकरणमा जोडिएका राईको लोकेशन पत्ता लागिसकेको भन्ने जानकारी दिनुभएको सन्दर्भ जोड्दै तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । उहाँले सूर्यदर्शन सहकारी प्रकरणको अनुसन्धान प्रक्रियामा सहभागी प्रहरी अधिकारीलाई सरुवा गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।
यस्तै प्रतिनिधिसभामा नेकपा ९एमाले० का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का सुकबहादुर तितुङलाई पर्सा वन्यजन्तु आरक्षणको मध्यवर्ती क्षेत्रमा यही असार ७ गते बिनाअपराध गोली प्रहार गरी हत्या गरिएको आरोप लगाउँदै उक्त घटनाको छानबिन गर्न माग गर्नुभयो ।
उहाँले सो घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो । आगामी दिनमा यस्ता घटना हुन नदिन सरकार विशेष चनाखो हुनुपर्ने प्रमुख सचेतक बर्तौलाको सुझाव थियो । मध्यवर्ती क्षेत्रमा विकास निर्माणका काम हुन नसकेको, वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको उल्लेख गर्दै उहाँले समस्या समाधानका लागि तत्काल पहल थाल्न आग्रह गर्नुभयो ।