११ असार काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले कुवेतले नेपालबाट थप दुई लाख कामदार लैजाने विषयमा छलफल भएको बताएका छन् ।मंगलबार एशिया कोअप्रेसन डायलग (एसीडी)को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
इरानको राजधानी तेहरानमा कुवेतका विदेश मन्त्री अब्दुल्ला अलि अल(याह्याले थप दुई लाख नेपाली कामदार कुवेत लगिने जानकारी दिएको बताए । उनले कुवेतमा अहिले एक लाख नेपाली रहेको र अब तीन लाख पुर्याउने लक्ष्य कुवेतको रहेको जानकारी दिएको बताए । उनले कुवेतका विदेश मन्त्री अब्दुल्लाले यसैवर्ष काठमाडौंमा कुवेतले दूतावास खोल्ने जानकारी दिएको बताए ।
उनले भ्रमणको क्रममा इरानका कार्यवाहक परराष्ट्र मन्त्री,म्यानमारका उपप्रधान तथा विदेश मन्त्री, बहराइनका विदेश मन्त्री,कुवेतका विदेश राज्यमन्त्री, साउदी अरेवियाका उपविदेश मन्त्री र रुसका उपविदेश मन्त्रीसँग दुई पक्षीय भेटघाट गरी दुई पक्षबीच सहकार्य र हितका विषयमा समेत छलफल भएको बताए ।
उनले रुसको उपविदेश मन्त्रीसँगको भेटमा रुसी सेनामा भएका नेपाली सैनिकहरू नेपालमा फिर्ता गर्ने सम्बन्धमा पनि छलफल भएको बताए । उनले नेपाली नागरिक फिर्ता पठाउने विषयमा सहमत भए पनि कार्यविधि बनाउन बाँकी रहेको जानकारी दिएको उल्लेख गरे । उनले युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएर ज्यान गुमाएका सात जना नेपालीको क्षतिपूर्तिको व्यवस्था गर्ने प्रक्रिया अघि बढेको बताए ।