१२ असार काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाले एकल पुरुष भत्ता कार्यक्रम लागू गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका, कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जन सहज बनाउन भत्ता कार्यक्रम लागू गरिएको हो ।
पालिकाले ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई वार्षिक रु चार हजारका दरले भत्ता दिने कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिनुभयो । सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित पुरुष बाहेक अन्य एकल पुरुषका लागि गरिएको उक्त कार्यक्रममा रु चार लाख बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।
किसानलाई व्यावसायिक पशु पालनतर्फ आकर्षित गर्न कम्तीमा एक सय भन्दाबढी भेडाबाख्रा पाल्नेलाई प्रोत्साहन भत्ता वितरण गर्नका लागि रु दुई लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्रबाट एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नेमध्ये एकजनालाई पहिलो वर्षको पढाइ खर्चबापत रु १५ लाख दिने गरी रकम विनियोजन गरेको छ ।
जेहेनदार तथा विपन्न विद्यार्थीलाई निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न रु १५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले जानकारी दिनुभयो । सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न पालिकाभित्रका सबै विद्यालयमा शैक्षिक कचहरी कार्यक्रम सञ्चालनका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ ।