१९ असार काठमाडौँ । रुपन्देहीमा एक युवा नेताको छुरा प्रहारबाट मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका रुपन्देही राष्ट्रिय युवा सङ्घ नेपाल पूर्व सदस्य रवि थापाको उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहारबाट मृत्यु हुने बुटवल–७, निवासी ३६ वर्षीय रवि थापाको मंगलबार मृत्यु भएको थियो ।
उनीमाथि गत जेठ २ गते बुटवल कालिकानगरस्थित एक रेस्टुरेन्टमा छुरा प्रहार भएको हो। युवा सङ्घ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेतले थापाको निधनले सङ्गठनलाई पीडा बोध भएको बताउँदै घटनामा संलग्नलाई कानुनी कारबाहीका लागि प्रहरीसमक्ष ध्यानाकर्षण गराइएको बताए ।
रेस्टुरेन्टमा रहेको सिसिटिभी क्यामेरामा घटनाको विवरण कैद भई अपराधीको पहिचान समेत खुलिसकेको अवस्थामा पनि हालसम्म उनीहरू पक्राउ नगरिएको युवा सङ्घको गुनासो छ ।इलाका प्रहरी कार्यालयका बुटवलका डिएसपी विजयराज पण्डितले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए।उनले घटनाक्रम सुक्ष्म रुपमा अनुसन्धान भए पनि अझैसम्म नियन्त्रणमा कसैलाई नलिएको बताए ।घटना बारे प्रहरीलाई थाहा हुदा पनि केही नगरेको उनीहरुको भनाई छ ।