२३ असार काठमाडौँ । नेपालको पहिलो केवुलकार मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति सुरु भएको छ । झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना केवलकार प्रालिले जनाएको छ ।स्तरउन्नतिका लागि उपकरणसहित यसको निर्माता कम्पनी अष्ट्रियाबाट प्राविधिकहरु आइसकेका छन् ।
उनीहरुले आउँदो असार ३१ गतेबाट स्तरोन्नतिको काम गर्नेछन् ।कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठकाअनुसार २६ वर्ष अगाडि जडित प्रविधिलाई प्रतिस्थापन गरेर अहिलेको विश्वमा प्रचलित प्रविधि जडान गरेर स्तरोन्नति गर्न लागिएको हो ।अष्ट्रियाको विश्व नंबर १ कम्पनी डोपलमायरबाट निर्माण गरिएको यो केबुलकार बिगत २५ बर्षदेखि कुनै समस्या उत्पन्न नभै संचालनमा भइरहेको छ ।एनालग प्रविधिमा सञ्चालन भइरहेको यस केवलकारको प्रविधि अव डिजिटल प्रविधिमा रुपान्तर हुने उनले बताए ।
पुरानो मोटर सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशन बीच जडित समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ र यसको लम्बाई करीव ३२०० मिटरको हुनेछ । त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक फेरिने छ र त्यसको लम्बाई करीव ६५०० मिटरको हुनेछ ।केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिपहरु, जस्को माध्यमबाट तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकिएको छ । डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको भनाई छ ।